Home विश्व अमेरिकी डीभी–२०२७ ढिलाइ: नयाँ शुल्क, प्राविधिक अपडेटका कारण दर्ता खुल्ने मिति घोषणा...

अमेरिकी डीभी–२०२७ ढिलाइ: नयाँ शुल्क, प्राविधिक अपडेटका कारण दर्ता खुल्ने मिति घोषणा हुन बाँकी

0
Nepalese Community News from Australia

अमेरिकाको प्रतिष्ठित डाइभर्सिटी भिसा (DV) कार्यक्रमका लागि डीभी–२०२७ दर्ता अवधि अझै खुलेको छैन। हरेक वर्ष अक्टोबरको सुरुवातमै दर्ता खुल्ने परम्परा रहे पनि, यसपटक नयाँ १ अमेरिकी डलरको इलेक्ट्रोनिक दर्ता शुल्क र प्रणाली अपडेटका कारण औपचारिक मिति घोषणा नै नआएको अमेरिकी विदेश मन्त्रालय (U.S. Department of State) ले जनाएको छ।

अहिलेसम्म डीभी–२०२७ सम्बन्धी कुनै पनि सूचना नआएकाले इच्छुक आवेदकहरूलाई एक मात्र विश्वसनीय स्रोत—अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेबसाइट—नियमित रूपमा अनुसरण गर्न आग्रह गरिएको छ।
सूचना Diversity Visa Program Page वा Electronic Diversity Visa (E-DV) पोर्टलमै प्रकाशित हुन्छ।

सामान्यतः डीभी दर्ता अवधि करिब एक महिनासम्म खुल्ने गर्छ। तर यसपटक प्राविधिक परिमार्जनका कारण घोषणा केही समय लाग्ने अधिकारीहरूको अनुमान छ।

डीभी–२०२७ देखि पहिलोपटक १ अमेरिकी डलरको अन–रिफन्डेबल (फर्क नफर्किने) इलेक्ट्रोनिक दर्ता शुल्क अनिवार्य हुनेछ। यो शुल्क अनलाइन दर्ता गर्ने बेलामै तिर्नुपर्नेछ। पहिले–पहिले डीभी कार्यक्रम पूर्ण रूपमा निःशुल्क थियो, तर नयाँ प्रशासनिक परिवर्तनअन्तर्गत यो शुल्क थपिएको हो।

अधिकारिहरूले डीभी–२०२७ खुलिसकेको दाबी गर्ने नक्कली वेबसाइट, एजेन्ट, वा इमेल–फोनमार्फत प्रलोभन दिने व्यक्तिहरूबाट सावधान रहन चेतावनी दिएका छन्। “चिट्ठा पक्कै लाग्छ” भन्ने प्रस्ताव आधिकारिक नभएका माध्यमबाट पैसा माग्ने दर्ता खुलेको झूटो दाबी इमेल/फोनमार्फत ‘तपाईं छानिनुभयो’ भनी जानकारी दिने यी सबै ठगीका संकेत हुन्।
अमेरिकी सरकारले कहिल्यै इमेल, फोन वा चिठीमार्फत छानिएका व्यक्तिलाई सूचित गर्दैन। छनोट स्थिति जाँच्न केवल E-DV वेबसाइट मा आफ्नो Confirmation Number प्रयोग गर्नुपर्छ।

अधिकारीहरूले इच्छुक आवेदकहरूलाई अहिलेकै समयमा आवश्यक कागजात, विशेषत: ताजा र नियमअनुसारको फोटो तयार राख्न सुझाव दिएका छन्। दर्ता खुल्ने आधिकारिक सूचना नआउँदासम्म धीरज र सावधानी अपनाउन अनुरोध गरिएको छ। डीभी–२०२७ को दर्ता कहिले खुल्ने भन्नेबारे चासो बढिरहे पनि, अमेरिकी सरकारको आधिकारिक घोषणालाई नै विश्वसनीय आधार मानेर अघि बढ्न विशेषज्ञहरूको सुझाव छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version