Home अस्ट्रेलिया फेडरल निर्वाचनको सन्दर्भमा नेपाली समुदायसँग बसैम अब्दोको अन्तरक्रिया कार्यक्रम सम्पन्न

फेडरल निर्वाचनको सन्दर्भमा नेपाली समुदायसँग बसैम अब्दोको अन्तरक्रिया कार्यक्रम सम्पन्न

0

ईस्टर आइतबारको साँझ, मेलबोर्नको कालवेल क्षेत्रमा लेबर पार्टीका संघीय उम्मेदवार बासेम अब्दोले तीव्र गतिमा वृद्धि भइरहेको नेपाली समुदायका अगुवाहरूसँग क्रेगीबर्नमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाए। संघीय निर्वाचन अभियान अन्तर्गतको यो विशेष छलफल कार्यक्रम नेपाली समुदायका प्राथमिकता, चुनौती र अपेक्षालाई सम्बोधन गर्ने उद्देश्यले आयोजित गरिएको थियो।

कार्यक्रममा क्रेगीबर्न, मिक्लह्याम र काल्कालो नेपाली समुदायका प्रतिनिधिहरूले सुरक्षित, समावेशी र समृद्ध भविष्यको परिकल्पना प्रस्तुत गर्दै सामुदायिक सुरक्षा, स्थानिय सरकारका कार्यदल तथा योजना समितिहरूमा सार्थक सहभागिता, र पारिवारिक तथा लैङ्गिक हिंसाको रोकथामका विषयमा जोड दिए। समुदाय स्वयं हिंसाविरुद्ध सक्रिय पहल गर्न तयार रहेको उल्लेख गर्दै, त्यसका लागि स्थानिय र राज्य सरकारको सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गरियो।

युवाको सशक्त सहभागिता र नेपाली सांस्कृतिक पहिचानको प्रवर्द्धनलाई पनि समुदायको दीर्घकालीन समृद्धिका लागि महत्वपूर्ण विषयका रूपमा उठाइएको थियो।

१४ वर्षदेखि भिक्टोरियाको बहुसांस्कृतिक समाजमा सामाजिक, धार्मिक र राजनीतिक गतिविधिमा समर्पित अगुवा रञ्जन श्रीवास्तवको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो। ह्युम काउन्सिलका पूर्व काउन्सिलर उम्मेदवार अनन्त पौडेलको निवासमा सम्पन्न कार्यक्रममा सहभागीहरूलाई शोभा पौडेलले आत्मीय आतिथ्य प्रदान गरेकी थिइन्।

नेपालबाट अष्ट्रेलिया बसाइँसराइ गर्नेहरूको संख्या तीव्र गतिमा बढिरहेकाले मेलबोर्न उत्तर क्षेत्र, विशेषतः कालवेल निर्वाचन क्षेत्र अन्तर्गत क्रेगीबर्न र मिक्लह्यामजस्ता स्थानहरूमा नेपाली समुदाय उल्लेखनीय रूपमा स्थापित हुँदै गएको छ। आगामी संघीय निर्वाचनमा नेपाली समुदाय निर्णायक मतदाता समूहको रूपमा देखा पर्ने अनुमान गरिएको छ।

बासेम अब्दोले नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्न पाउँदा आफू गौरवान्वित भएको बताए। उनले भिक्टोरियाको बहुसांस्कृतिक संरचनामा नेपाली समुदायको योगदानको खुलेर प्रशंसा गर्दै, समुदायका सरोकारका विषयहरू संघीय संसदमा उठाउने र समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको समापनमा उपस्थित नेपाली समुदायले बासेम अब्दोलाई आगामी निर्वाचनका लागि शुभकामना दिँदै, समुदायप्रतिको उनको समर्पण, समय र प्रतिबद्धतालाई सराहना जनाए। यो सहकार्यले नेपाली समुदायलाई अझ मजबुत, समृद्ध र नेतृत्वदायी भूमिकामा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version