Home नेपाल खबर राजस्व अनुसन्धान विभागले कुरियर कम्पनीविरुद्ध १ अर्ब ३६ करोडभन्दा बढीको कर छली...

राजस्व अनुसन्धान विभागले कुरियर कम्पनीविरुद्ध १ अर्ब ३६ करोडभन्दा बढीको कर छली मुद्दा दायर

0

राजस्व अनुसन्धान विभागले सर्भर विदेशमा राखी अनलाइनमार्फत् कारोबार गरी कर छली गरेको आरोपमा एक कुरियर कम्पनीविरुद्ध १ अर्ब ३६ करोड ८८ लाख रुपैयाँभन्दा बढीको माग दाबीसहित मुद्दा दायर गरेको छ। विभागले आइतबार काठमाडौँको तीनकुनेमा अवस्थित ‘नेपाल क्यान मुभ प्रालि’ र त्यसका सञ्चालकसहित ६ जना विरुद्ध पाटन उच्च अदालतमा उजुरी पेस गरेको हो।

विभागको अनुसन्धानअनुसार कम्पनीले आफ्नो व्यावसायिक कारोबारका लागि प्रयोग हुने अनलाइन पोर्टल ‘नेपाल क्यानमुभ डटकम’ को सर्भर अस्ट्रेलियामा राखेर नेपालमा कारोबार गर्दै आएको छ। यसरी सर्भर विदेशमा राखी नेपालको कर प्रशासनको निगरानीबाट बच्ने प्रयास गरेको पाइएको छ।

आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ फागुनसम्मको अवधिमा कम्पनीले उक्त पोर्टलबाट भएको वास्तविक बिक्री आय लुकाएर आन्तरिक राजस्व विभागमा कम कारोबार देखाएको खुलेको छ। विभागले जारी गरेको विज्ञप्तिमा कम्पनीले अस्ट्रेलियामा राखिएको सर्भरमार्फत् ठूलो कारोबार गरेको तर भ्याट आय विवरणमा त्यसलाई पेस नगरी मूल्य अभिवृद्धि कर र आयकरमा ठूलो रकम छली गरेको उल्लेख छ।

अनुसन्धानबाट कम्पनीले भ्याट र आयकर गरी जम्मा ७८ करोड २८ लाख ४६ हजार ७६७ रुपैयाँ बराबरको करयोग्य कारोबार लुकाएको पत्ता लागेको छ। विभागले कर छलीको कूल बिगो रकम ६८ करोड ४४ लाख ५ हजार ७६० रुपैयाँ निर्धारण गरेको छ। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम बिगोको शतप्रतिशत जरिवाना थप गर्दा कुल १ अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० रुपैयाँ असुलउपर गर्न माग गरिएको छ।

मुद्दामा प्रतिवादीको रूपमा ‘नेपाल क्यान ग्रुप प्रालि’ र सञ्चालकहरू सुदिप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिष प्रसाद आचार्य, मिठु पौडेल, तथा कम्पनीका उपकार्यकारी निर्देशक सङ्गम पौडेललाई नामाङ्कित गरिएको छ। विभागले सुदिप आचार्य र जीवन ज्ञवालीलाई पटक–पटक ताकेता गर्दा पनि उपस्थित नभई फरार रहेको जनाएको छ। उपकार्यकारी निर्देशक सङ्गम पौडेललाई मुख्य कसुरदारलाई सहयोग गरेको भन्दै मतियारका रूपमा आधा सजायको माग गरिएको छ।

press_20820301_Nepal_Canmoov_1749988113

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version