Home अस्ट्रेलिया अष्ट्रेलियामा छठ पर्वको भव्य उत्सव: नेपाली मधेसी समुदायले बनायो गर्विलो पहिचान

अष्ट्रेलियामा छठ पर्वको भव्य उत्सव: नेपाली मधेसी समुदायले बनायो गर्विलो पहिचान

0

मेलबर्न, अष्ट्रेलिया — अष्ट्रेलियामा रहेका नेपाली मधेसी समुदायले यस वर्षको छठ पर्व भव्य रूपमा मनाएका छन्। अष्ट्रेलियाली नेपाली बहुसांस्कृतिक केन्द्र (Australian Nepalese Multicultural Centre – ANMC), १०० डन्कन्स लेन, डिगर्स रेस्ट, भिक्टोरियामा आयोजित यस वर्षको छठ कार्यक्रमले अघिल्ला वर्षहरूभन्दा बढी सहभागिता र व्यवस्थापन देखाएको छ।

कार्यक्रमको साँझ सत्र २०२५ अक्टोबर २७ गते आइतबार साँझ ३ बजेदेखि राति ९ बजेसम्म, र बिहानको सत्र अक्टोबर २८ गते मंगलबार बिहान ५ बजेदेखि ८ बजेसम्म सम्पन्न भयो।
यसपटकको छठ पूजामा सयौं भक्तजनहरूको उपस्थिति थियो। सहभागीहरूले सुर्यदेवको आराधना गर्दै व्रत बस्ने, नदी वा पोखरीको किनारमा दीप प्रज्वलन गर्ने, र परम्परागत गीत र भक्ति गान गाउने परम्परा निभाए।

नेपाली मधेसी कम्युनिटी भिक्टोरिया (पहिलेको नाम मधेसी कम्युनिटी भिक्टोरिया) ले यो वर्षको आयोजनालाई अझ व्यवस्थित र भव्य बनाएको भन्दै सबैले प्रशंसा गरे।

कार्यक्रममा पूर्व अध्यक्ष डा. सुरेन्द्र रौनियारले सम्बोधन गर्दै, छठ पर्वलाई सांस्कृतिक छुट्टीको रूपमा मान्यता दिन अष्ट्रेलियाली सरकारसमक्ष अनुरोध गर्न स्थानीय सांसदलाई आग्रह गरे।
त्यस्तै, वर्तमान अध्यक्ष रणजीत साह र उनका टीमले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै, समुदायको एकता र संस्कृतिको संरक्षणमा सबैको योगदानको सराहना गरे।

छठ पर्वका समन्वयकर्ता तथा कार्यसमिति सदस्य आर्यन राउतले भन्नुभयो :
“छठ केवल पर्व होइन, यो श्रद्धा र भावनासँग जोडिएको आस्था हो। जसले भगवानमा विश्वास गर्छन् र यसको महत्व बुझेर यो पर्व मनाउँछन्, तिनीहरूका लागि यो निकै विशेष हुन्छ। सूर्यले पृथ्वीमा सबै जीवहरूलाई ऊर्जा र जीवन प्रदान गर्दै आएको छ। यो वर्षको कार्यक्रममा जनसमुदायको उल्लेखनीय उपस्थितिले म र सम्पूर्ण कार्यसमिति अत्यन्तै अभिभूत भएका छौं। आगामी वर्षहरूमा यसलाई अझ भव्य र सफल बनाउन हामी प्रतिबद्ध छौं।”

छठ पर्वको उल्लास केवल भिक्टोरियामै सीमित रहेन। सिड्नीमा Association of Nepal Terai in Australia, क्यानबेरामा Madheshi Society, र पर्थमा Madheshi Community Association of Western Australiaले पनि समान रूपमा छठको पूजा तथा सामूहिक कार्यक्रम आयोजना गरेका थिए।

छठ पर्वको विशेषता के हो भने — यो सूर्यदेव र छठी मैयाको आराधना गर्ने पर्व हो, जसमा व्रतालुहरूले पानीमा उभिएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्। यस पर्वको एक अद्वितीय विशेषता यो पनि हो कि, छठ पूजाको मिति वा समय सजिलोका लागि परिवर्तन हुँदैन। संसारको जुन कुनामा भए पनि, भक्तजनहरू एउटै समयमा र एउटै दिनमा यो पर्व मनाउँछन् — चाहे मौसम प्रतिकूल होस् वा दूरी धेरै।

विदेशमा बसेका नेपालीहरूको लागि यस्तो पर्वले संस्कृति, आस्था र पहिचानलाई जीवित राख्ने माध्यम बनेको छ। विशेषगरी नयाँ पुस्तालाई आफ्नै परम्परा, धार्मिक मूल्य र सामाजिक एकताको महत्त्व बुझाउन यस्ता सामूहिक पर्वहरूले ठूलो योगदान पुर्‍याइरहेका छन्।

भिक्टोरियामा सम्पन्न छठ पूजाले देखाएको एकता, अनुशासन र श्रद्धाले नेपाली समुदायको गौरवलाई अझ उचो बनाएको छ। यसरी, परदेशमा रहेर पनि मातृभूमिको संस्कार र परम्परालाई निरन्तरता दिनु आफैंमा एउटा प्रेरणादायी सन्देश हो।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version