वासिङ्टन / तेहरान – २०८२ असार ८ गते
अमेरिकाले इरानविरुद्धको युद्धमा औपचारिक रूपमा हस्तक्षेप गर्दै तीनवटा प्रमुख आणविक केन्द्रहरूमा आक्रमण गरेको घोषणा गरेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आक्रमण सम्पन्न भएको जानकारी दिएका हुन्।
“फोर्डो, नातान्ज र इस्फाहानस्थित तीनवटा आणविक केन्द्रहरूमा हाम्रो सफल आक्रमण सम्पन्न भयो,” ट्रम्पले Truth Social मा लेखे, “फोर्डोमाथि सबैभन्दा ठूलो बम आक्रमण गरियो र सबै विमानहरू सुरक्षित रूपमा इरानी हवाई सीमाबाट बाहिर गइसकेका छन्।”
यो आक्रमण इजरायल र इरानबीच नौ दिनदेखि चलिरहेको युद्धको पृष्ठभूमिमा भएको हो। यस युद्धमा इजरायली सेनाले इरानका आणविक केन्द्र, क्षेप्यास्त्र प्रक्षेपण स्थल, वायु प्रतिरक्षा प्रणाली, सैनिक कमाण्डर र वैज्ञानिकहरूलाई लक्षित गर्दै व्यापक हमला गर्दै आएको छ।
ट्रम्पको भनाइअनुसार, आक्रमणमा बमवर्षा गरिएका विमानहरू इरानी सीमाबाट बाहिरिसकेका छन्। यद्यपि कुन प्रविधि र कुन किसिमका बम प्रयोग गरिए भन्ने खुलाइएको छैन। विश्लेषकहरूका अनुसार अमेरिकी B-2 स्टेल्थ बमवर्षकहरू—जसले भूमिगत बंकरमा समेत हमला गर्न सक्ने ३०,००० पाउण्ड वजनको GBU-57 बंकर बस्टर बम बोक्न सक्छन्—त्यसका लागि प्रयोग हुनसक्छन्।
इजरायली नेताहरूले अमेरिकी प्रशासनलाई इरानसँगको आणविक सम्झौता कुरेर बस्न दुई हप्ता लामो समय नदिइ युद्ध अघि बढाउने तयारीमा रहेको चेतावनी दिएका छन्। इजरायली प्रधानमन्त्री नेतान्याहू, रक्षामन्त्री इजरायल काट्ज र सेनाका प्रमुख एयाल जमीरले ट्रम्प प्रशासनसँग गम्भीर टेलिफोन संवाद गरेका थिए।
यसैक्रममा, अमेरिकी उपराष्ट्रपति जे.डी. भेन्सले भने अमेरिकाले प्रत्यक्ष युद्धमा संलग्न हुनु हुँदैन भन्ने धारणा राखेका छन्। सुरक्षा स्रोतअनुसार, ट्रम्पको टिममै पनि इरानमाथिको आक्रमणबारे गम्भीर मतभेद देखिएको छ।
अहिलेको मुख्य प्रश्न भनेको इरानले कसरी जवाफ दिनेछ भन्ने हो। यदि इरानले अमेरिकी सैन्य आधारहरूमा प्रतिआक्रमण ग¥यो भने युद्धको क्षेत्रीय विस्तार हुन सक्छ। विशेषगरी होरमुज जलडमरूमा नाकाबन्दीको प्रयास सम्भावित छ।
इरानले लामो दूरीका क्षेप्यास्त्र हाल प्रक्षेपण नगरे पनि छोटो दूरीका क्रुज मिसाइल र ड्रोन क्षमताहरू भने अझै बलियो छन्, जुन क्षेत्रीय अमेरिकी आधारहरूका लागि खतरा बन्न सक्छ।
इजरायली नेताहरूले यदि अमेरिकी साथ नआए पनि Fordow आणविक केन्द्रमाथि एकल हमला गर्न सक्ने सम्भावना जताएका छन्। इजरायली वायुसेनाको इरानी हवाई क्षेत्रमा प्रभुत्व छ, जसले उक्त आक्रमणलाई व्यवहारिक बनाएको बताइन्छ। विश्लेषकहरूका अनुसार, इजरायलले विशेष फौज प्रयोग गरी केन्द्रभित्र पसी नष्ट गर्ने योजना पनि बनाइरहेको हुनसक्छ।
सैन्य र आणविक विशेषज्ञहरूका अनुसार, यस्ता हमला र आक्रमणहरूले इरानको आणविक कार्यक्रमलाई स्थायी रूपमा होइन, केवल केही समय पछाडि धकेल्न सक्छ। इरानले भने सधैंजसो जस्तै आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र रहेको दाबी गर्दै आएको छ।