Home अस्ट्रेलिया क्विन्सल्याण्ड क्विन्सल्याण्डमा इस्लामिक स्टेट समर्थन गर्न उक्साएको अभियोगमा ४ वर्ष जेल सजाय

क्विन्सल्याण्डमा इस्लामिक स्टेट समर्थन गर्न उक्साएको अभियोगमा ४ वर्ष जेल सजाय

0

ब्रिस्बेन, अगस्ट २६, २०२५ ।
क्विन्सल्याण्डको लोगनका ४३ वर्षीय एक व्यक्तिलाई सामाजिक सञ्जालमा इस्लामिक स्टेट (आईएस) आतंकवादी समूहलाई समर्थन गर्न उक्साउने भिडियो सार्वजनिक गरेको अभियोगमा ब्रिस्बेन जिल्ला अदालतले आज ४ वर्ष कैद सजाय सुनाएको छ। उनलाई कम्तीमा ३ वर्ष जेलमा बसिसकेपछि मात्र पैरोलको अधिकार हुनेछ।

गत हप्ताको ज्यूरी ट्रायलपछि उनी ६ वटा आतंकवादलाई समर्थन गरेको अभियोगमा दोषी ठहर भएका थिए भने २ वटा अभियोगमा सफाइ पाएका थिए। साथै उनले अपराधबाट प्राप्त रकम प्रयोग गरेको एक मुद्दामा पनि दोषी स्वीकार गरेका थिए, जसमा उनले २०१३ मा सिरियामा आतङ्ककारी गतिविधिमा संलग्न हुन गएका व्यक्तिलाई आर्थिक सहयोग गरेको खुलेको थियो।

यो व्यक्ति ब्रिस्बेनमा आधारित एक धार्मिक अन्ध-उग्रवादी समूहको वरिष्ठ सदस्य रहेको पाइएको छ, जसको उद्देश्य सिरिया गएर आतङ्ककारी गतिविधिमा संलग्न हुनु थियो।

क्विन्सल्याण्ड जोइन्ट काउन्टर टेररिज्म टिम (JCTT) – जसमा अष्ट्रेलियन फेडरल पुलिस (AFP), क्विन्सल्याण्ड पुलिस सेवा (QPS) र अष्ट्रेलियन सुरक्षा गुप्तचर संगठन (ASIO) रहेका छन् – ले उनको फेसबुकमा २०१९ मार्चदेखि २०२० फेब्रुअरीसम्म राखिएका भिडियोहरूबाट प्रमाण संकलन गरेको हो। ती भिडियोहरूमा उनले अंग्रेजी र अरबी भाषामा आफ्ना फलोअरलाई आईएसलाई हतियार दिन, आर्थिक सहयोग गर्न र जिहादमा सहभागी हुन आव्हान गरेका थिए।

उक्त व्यक्तिलाई २०१९ जुनमा अष्ट्रेलिया छाडेर गएका बेला, साउदी अरबमा २०२१ मार्चमा पक्राउ गरियो र त्यसै वर्ष जुलाईमा अष्ट्रेलिया फिर्ता पठाइयो। सिड्नी एयरपोर्टमै JCTT ले उनलाई नियन्त्रणमा लिएको थियो।

उनी पहिलो पटक विदेशी युद्धमा संलग्न हुने तयारी गरेको अभियोगमा चार्ज गरिएका थिए, तर पछि सम्झौता अनुसार अपराधबाट प्राप्त रकम (१००० डलरभन्दा बढी) प्रयोग गरेको एक अभियोग मात्र स्वीकार गरे। २०२२ मा उनलाई आतंकवादलाई समर्थन गर्ने थप मुद्दामा चार्ज गरियो।

२०२२ जूनमा जमानत तोडेर GPS ट्र्याकिङ ब्रेसलेट काटेर ओमान भाग्ने प्रयास गर्दा फेरि पक्राउ परेका थिए र त्यसबेलादेखि उनी हिरासतमा रहेका छन्।

एएफपीका असिस्टेन्ट कमिश्नर स्टिफेन नटले भने,

“हामीले समुदायलाई सुरक्षित राख्न देशभरका काउन्टर टेररिज्म टिममार्फत निरन्तर काम गरिरहेका छौं। जसले आतंकवादी गतिविधिलाई उक्साउँछन् वा समर्थन गर्छन्, उनीहरूलाई पहिचान गरेर कानुनको कठघरामा उभ्याइन्छ।”

त्यसैगरी QPS का सुरक्षा तथा काउन्टर टेररिज्म कमाण्डका कार्यवाहक असिस्टेन्ट कमिश्नर हीथ हटचिङ्सले भने,

“सबै निकायहरूको साझा प्रयास र क्षमताले स्पष्ट सन्देश दिन्छ— आतङ्कवादसम्बन्धी गतिविधि गर्ने जो कोहीलाई गम्भीरतापूर्वक अनुसन्धान गरिन्छ र अदालतमा प्रस्तुत गरिन्छ।”

प्रहरी र सुरक्षा निकायहरूले समुदायलाई सतर्क रहन आह्वान गर्दै कुनै पनि शंका लाग्दो गतिविधि वा सूचना भए तुरुन्त जानकारी दिन आग्रह गरेका छन्।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version