क्यानबेरास्थित ॐ सिद्धा ज्वेलर्स मा एक ठगी घटनाले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध बनाएको छ। पसल सञ्चालक अमृत सुनारका अनुसार सोमबार बिहान ११:३० बजे चार जना—तीन जना युवक र एक युवती—पसलमा ग्राहकको रुपमा आएर दिदीको विवाहको लागि सुन किनेका थिए।
ठूलो रकमको किनमेल भएकोले बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्ने सहमति भएको थियो र करिब ३९ हजार डलर बराबरको ट्रान्सफर गरिएको देखाइएको थियो। तर अर्को दिनसम्म पनि उक्त रकम पसलको खातामा नदेखिएपछि सञ्चालक अमृत सुनारले ती ग्राहकहरूसँग सम्पर्क गर्न खोजे। शुरुमा ती व्यक्तिहरूले पैसा नआए सुन फिर्ता गर्ने वा नगद लिएर आउने भने पनि पछि जब रकम अझै पनि नआएपछि सम्पर्क गर्दा तिनले उल्टै अमृत सुनारलाई ज्यान मार्ने धम्की दिए। पछि क्यामेरा जाच गर्दा उनीहरुले ४ हजार बराबरको सुनको सिक्री समेत चोरेर लगेको र आफु ४३ हजार डलर बराबरको चोरी तथा ठगिमा परेको संचालक अमृतले जानकारी गराए।
पसल सञ्चालकले बैंकमा समेत जानकारी माग्दा बैंकले कुनै जानकारी दिन अस्वीकार गर्यो। यसबारेमा ॐ सिद्ध ज्वेलर्स मेलबोर्न का सञ्चालक तथा अमृतका नातेदार दिनेश सुनारले बताएअनुसार, प्रहरीले भने अपराधीहरू सिड्नी निवासी भएको कारण न्यू साउथ वेल्स (NSW) प्रहरीले अनुसन्धान गर्नु पर्ने बताएको छ। तर जब NSW प्रहरीसँग सम्पर्क गरियो, उनले यो घटना ACT (क्यानबेरा) भित्र भएको हुनाले ACT प्रहरीले अनुसन्धान गर्नुपर्ने जनाए।
उक्त घटनापछि क्यानबेरास्थित नेपाली समुदायले नेपाली दूतावासको सहयोग माग गरेपछि स्थानीय सांसद र मन्त्रीहरू समेत सक्रिय बनेका छन्। उनीहरूले यो विषय गम्भीर रूपमा लिइएको र पूर्ण रूपमा अनुसन्धान हुने आश्वासन दिएका छन्।
यस्तै, सोही दिन गीताञ्जली ज्वेलर्स क्यानबेरामा पनि सोही समूहले करिब १३ हजार डलर बराबरको ठगी गरेको खुलेको छ।
अमृत सुनारले नेपाली सञ्चार सँग कुरा गर्दै आफू अहिलेसम्म कुनै सुरक्षा नपाएको र ज्यानको डर रहेको बताएका छन्। यद्यपि, नेपाली समुदाय र NRNAका सदस्यहरू उनलाई साथ दिइरहेका छन् र न्यायको लागि दबाब दिइरहेका छन्।
यो घटना न केवल एक ठगीको विषय हो, बरु यसले प्रवासी नेपाली समुदायमा विश्वास, सुरक्षा र न्यायको सवालसमेत उठाएको छ। सम्बन्धित निकायहरूले चाँडोभन्दा चाँडो यथोचित अनुसन्धान गरी दोषीलाई कारवाही गर्नु अत्यावश्यक देखिन्छ।
🟨 एक्सक्लुसिभ अन्तर्वार्ता : यदि तपाईं डेस्कटपमा इन्टरभ्यू सुन्दा पृष्ठको फूटरमा रहेको रेडियो प्लेयरको आवाज पनि एकै साथ बजिरहेको सुनिन्छ भने, कृपया रेडियो प्लेयर बन्द (pause/stop) गर्नुहोस्।