Home नेपाल खबर इटहरीमा सरकारविरुद्ध राजावादी प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

इटहरीमा सरकारविरुद्ध राजावादी प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

0
Photo Credit: Nepal Khabar

सुनसरीको इटहरीमा राजावादीहरूले साँझ सरकारविरुद्ध प्रदर्शन गरेका छन्। गणतन्त्रको विरोध गर्दै निस्किएको जुलुसले इटहरीको मुख्य चोकमा नाराबाजी गरेको थियो। राष्ट्रवादीको नाम दिएर आयोजना गरिएको प्रदर्शनमा सहभागीहरूले ‘राजतन्त्र फर्काउनु पर्छ’, ‘सिन्डिकेट तन्त्रको अन्त्य गरौँ’, ‘लुटतन्त्रको विरुद्धमा एक हौं’ र ‘हिन्दू राज्य कायम गरौँ’ जस्ता नारा लगाएका थिए।

प्रदर्शनकारीहरूले इटहरी चोकबाट विराटनगर लाइन हुँदै बसपार्कतर्फ मोडिएर पुनः इटहरी चोकमै मसाल जुलुस निकालेका थिए। मसाल जुलुसका क्रममा प्रहरीले नियन्त्रण लिन खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केहीबेर घम्साघम्सी भएको थियो। सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले प्रहरी र प्रदर्शनकारीबीच लफडा भएको पुष्टि गरेका छन्।

इटहरीका साथै झापाको झिलझिले र दमकमा पनि राजावादीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। यी स्थानहरूमा पनि साँझ मसाल जुलुस निकालिएको थियो।

प्रदर्शनका क्रममा केहीबेर इटहरी चोकमा तनावको अवस्था सिर्जना भएको थियो। प्रहरीले अवस्था नियन्त्रणमा लिन खोज्दा प्रदर्शनकारी आक्रोशित भएका थिए। अन्ततः सुरक्षाकर्मीको उपस्थितिमा स्थिति सामान्य बनेको थियो।

 

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version