Home विश्व ट्रम्पको बम आक्रमण धम्कीपछि इरानको कडा चेतावनी

ट्रम्पको बम आक्रमण धम्कीपछि इरानको कडा चेतावनी

0

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध बम आक्रमण गर्ने धम्की दिएपछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले कडा प्रतिक्रिया दिएका छन्। इद उल-फित्रको नमाजका क्रममा तेहरानमा दिएको भाषणमा खामेनीले भने, ‘धम्कीले हामीलाई दुष्टतातिर डोऱ्याउनेछ। हामीलाई लाग्दैन कि कुनै बाह्य शक्तिले इरानमा आक्रमण गर्नेछ। तर कसैले त्यसो गर्छ भने उनीहरूले पनि गम्भीर प्रहार भोग्नेछन्।’

केही दिनयता अमेरिका र इरानबीच तनाव फेरि बढ्दै गएको छ। कुनै कूटनीतिक सम्बन्ध नरहेका यी दुई देशबीच वाकयुद्ध उग्र बनेको हो। ट्रम्पले आइतबार इरानले आफ्नो आणविक कार्यक्रममा सम्झौता नगरेमा ‘बम विस्फोट गराउने र थप कडा प्रतिबन्ध लगाउने’ चेतावनी दिएका थिए।

यो धम्कीपछि खामेनीले इरान कुनै पनि बाह्य दबाबमा नआउने बताउँदै भने, ‘यदि उनीहरूले इरानभित्र विद्रोह भड्काउने योजना बनाइरहेका छन् भने इरान आफैंले त्यसको जवाफ दिनेछ। हामीले पहिले पनि यस्ता कार्यको प्रतिरोध गरिसकेका छौँ।’

मार्चको सुरुमा ट्रम्पले इरानका सर्वोच्च नेता खामेनीलाई आणविक कार्यक्रममा नयाँ सम्झौताका लागि पत्र पठाएका थिए। इरानी अधिकारीहरूका अनुसार उक्त पत्र मार्च १२ मा संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूतमार्फत पठाइएको थियो।

पत्रमा ट्रम्पले इरानले वार्तामा भाग नलिए अमेरिकाले उसलाई ‘आणविक हतियार बनाउन रोक्न केही उपाय अपनाउने’ उल्लेख गरेका थिए। तर, इरानले गत हप्ता वासिङ्टनसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्‍यो।

अमेरिकी समाचार च्यानल एनबीसी न्यूजलाई दिएको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले भने, यदि उनीहरूले सम्झौता गरेनन् भने त्यहाँ बम विस्फोट हुनेछ। यो यस्तो बम विस्फोट हुनेछ जुन उनीहरूले पहिले कहिल्यै देखेका थिएनन्।’

ट्रम्पको यो धम्कीपछि इरान र अमेरिकाबीचको तनाव झन् बढ्ने संकेत देखिएको छ। इरानी नेताहरूले इरान आफ्नो रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको दोहोर्‍याइरहेका छन्। अब यो विवाद कसरी अघि बढ्छ भन्ने हेर्न बाँकी छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version