अष्ट्रेलियामा व्यवसायीक सुरक्षाको अवस्था दिनानुदिन कमजोर बन्दै गएको छ। विशेषतः नेपाली समुदायका गहना पसलमा लगातार लुटपाट र डकैतीको शिकार भइरहेका छन्। पछिल्लो समयमा ब्रिसबेन, मेलबर्न, र सिड्नी जस्ता शहरहरूमा नेपाली व्यवसायीहरू लक्षित आक्रमणको सामना गरिरहेका छन्।
ब्रिसबेनको चम्साईडमा रहेको श्री गणेश ज्वेलर्समा चार जना नकाबधारी लुटेराहरूले सञ्चालक विजय सुनारलाई हथौडाले प्रहार गरी गम्भीर घाइते बनाएका थिए। यस्तै, मेलबर्नको कोबर्ग क्षेत्रमा पनि केही महिना अघि सुन पसलमा लुटपाट भएको थियो। कारको सहायताले सटर फोडेर लुटपाट गरिएको थियो।
त्यस्तै हिजो अपराह्न करिब ४:४० बजे सिड्नीमा पिट स्ट्रिटको छेउमा रहेको एक आर्केडभित्रको सिल्भा एण्ड गोल्डी गहना पसलमा चोरीको घटना भएको थियो , जहाँ एक व्यक्तिले कर्मचारीहरूलाई धम्की दिएर तिजोरी खोल्न बाध्य बनाई हजारौं डलर बराबरको गहना लुटेर लगे।
एक हप्ता अघि मेलबर्नको ब्रन्सविकस्थित सिड्नी रोडमा ६ वटा व्यवसायहरूमा आक्रमण भएको थियो। लुटेराहरूले पसलको अगाडिको सिसा फुटाएर नगद चोरी गरेका थिए। यस्तै, Apsara Massage मा तीन जना लुटेराहरूले माछेटी देखाएर नगद लुटेका थिए। यस्ता घटनाहरूले व्यवसायीक सुरक्षामा गम्भीर प्रश्न उठाएका छन्।
व्यवसायीहरू बताउँछन् कि प्रहरी अनुसन्धानमा खास चासो नदिएको, बरु बिमा दावी गर्न सुझाव मात्र दिने प्रवृत्ति रहेको छ। यो अवस्था निराशाजनक मात्र होइन, समुदायप्रतिको सरकारी उदासीनताको स्पष्ट उदाहरण पनि हो।
धेरै व्यवसायीहरू बिमा दावी गर्दा प्रिमियम बढ्ने डरले दावी गर्न हिच्किचाउँछन्। साना व्यवसायीहरूका लागि बिमा प्रिमियम नै ठूलो बोझ बन्ने गरेको छ। यसले व्यवसायीहरूलाई थप आर्थिक संकटमा पारिरहेको छ।
सरकार र प्रहरी प्रशासनले निम्न उपायहरू अवलम्बन गर्न आवश्यक छ:
-
सुरक्षा प्रविधिको प्रयोग: HD CCTV, motion sensors, reinforced glass, silent alarms जस्ता आधुनिक प्रविधि तत्काल सबै पसलहरूमा लागू गर्नुपर्छ।
-
समुदाय आधारित ‘Business Safety Watch’ गठन: नेपाली व्यवसायीहरूको एकता र सञ्जाल निर्माण गरी आपसमा जानकारी, सुरक्षा उपाय, र शंका लाग्दो गतिविधिहरूको रिपोर्ट साझा गर्न सकिने प्रणाली स्थापना गर्नु आवश्यक छ।
-
प्रहरी र सरकारसँग नियमित संवाद: एनआरएन र अन्य सामुदायिक संघसंस्थाले प्रहरीसँग नियमित बैठक राखी नेपाली व्यवसायीहरूको अवस्थाबारे जानकारी दिनुपर्छ।
-
साझा कानुनी सहयोग केन्द्र स्थापना: घटनापछि पीडित व्यवसायीहरूलाई बिमा, कानुनी प्रक्रिया र सहायता पाउन सहज होस् भन्नका लागि सामुदायिक स्तरमा एक कानुनी सहायता केन्द्रको खाँचो छ।
-
सामुदायिक छलफल र दबाब कार्यक्रमहरू: ११ जुन २०२५ मा एनआरएन क्वीन्सल्याण्डको कार्यालयमा आयोजना हुने सामुदायिक छलफलमा सबै व्यवसायी, नेताहरू, तथा युवाहरूको सहभागिता जरुरी छ।
एनआरएन क्वीन्सल्याण्ड संयोजक शम्भु गाईसीले घटनालाई गम्भीर बताउँदै विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा अपराधको निष्पक्ष छानबिन, अपराधीलाई कारवाही र नेपाली व्यवसायीको सुरक्षाको प्रत्याभूति दिन माग गरिएको छ। NRNA Australia ले पनि घटनाको कडा शब्दमा निन्दा गर्दै “community targeted attack” भन्दै चिन्ता व्यक्त गरेको छ।
अष्ट्रेलियामा व्यवसायीक सुरक्षाको अवस्था गम्भीर संकटमा छ। सरकार र प्रहरी प्रशासनले तत्काल कदम नचाले व्यवसायीहरूको भविष्य अन्धकारमय बन्न सक्छ। नेपाली समुदायले एकजुट भएर सरकार र प्रहरी प्रशासनमाथि दबाब दिनु आवश्यक छ। अब मौन बस्ने बेला होइन, सुरक्षाको लागि आवाज उठाउने समय आएको छ।
विशेष समाचार विश्लेषण — प्रमोद के सोनी ,नेपाली संचार न्यूज डेस्क