अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमन अल–थानीसँग शुक्रबार न्यूयोर्कमा भेटवार्ता गर्ने भएका छन्। कतारको राजधानी डोहामा इजरायली आक्रमण भएको केही दिनमै हुने यो भेटलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरेको छ।
यसअघि इजरायलले डोहामा हमासका राजनीतिक नेताहरूलाई लक्षित गर्दै आक्रमण गरेको थियो। उक्त आक्रमणले गाजामा स्थायी युद्धविरामका लागि भइरहेको अमेरिकी–समर्थित वार्तामा गम्भीर असर पारेको बताइन्छ।
राष्ट्रपति ट्रम्पले इजरायलको unilateral कदमप्रति असन्तुष्टि जनाउँदै यसले “अमेरिका वा इजरायल दुवैको हितलाई अघि बढाउँदैन” भनेका छन्। भेटमा के–के विषयमा छलफल हुने भन्नेबारे भने आधिकारिक जानकारी दिइएको छैन।
कतार लामो समयदेखि गाजा संकटमा मध्यस्थकर्ताको भूमिकामा रहेको देश हो। उसले इजरायल–हमासबीच युद्धविराम, बन्धक मुक्तिको प्रयास र गाजाको युद्धपश्चात पुनर्निर्माणका एजेन्डामा सक्रियता देखाउँदै आएको छ। कतारी प्रधानमन्त्री अल–थानीले आक्रमणको निन्दा गर्दै यसले शान्ति पहललाई चुनौती दिएको बताए पनि कतार आफ्नो मध्यस्थकर्ताको भूमिका छोड्ने पक्षमा नभएको स्पष्ट पारेका छन्।
यसैबीच, अमेरिकी विदेश मन्त्री मार्को रुबियो पनि कतारी प्रधानमन्त्रीसँग छुट्टै भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।
गाजामा २०२३ अक्टोबरदेखि सुरु भएको युद्धले अहिलेसम्म ६४ हजारभन्दा बढी मानिसको ज्यान लिएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूको दाबी छ। लाखौं विस्थापित भएका छन्। विभिन्न मानवअधिकार समूहहरूले इजरायलको आक्रमणलाई “नस्लहत्या”को संज्ञा दिएका छन् भने इजरायलले त्यस्तो आरोप अस्वीकार गरेको छ।