Home कभर स्टोरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकार प्रमुखमा नियुक्त

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकार प्रमुखमा नियुक्त

0

काठमाडौँ – नेपालको अस्थिर राजनीतिक परिस्थितिबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ९ बजे शीतलनिवासमा कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णयमा सहमति जुटे पनि संसद् विघटनको विषयमा भने अझै टुंगो लागेको छैन।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते जेनजी आन्दोलनको दबाबमा पदबाट राजीनामा दिएका थिए। ओली नेतृत्वको शक्तिशाली दुई-तिहाइको सरकार जेनजी युवाहरूको भ्रष्टाचारविरुद्धको विद्रोहले ढलेको हो। सो आन्दोलनमा काठमाडौँसहित देशभर १९ जनाको ज्यान गएको थियो।

राजनीतिक दल र नेताहरूको सम्पत्ति, पार्टी कार्यालय र ठूला उद्योगमा भएको तोडफोड र आगजनीका कारण अर्बौंको क्षति भएको छ। विश्लेषकहरूले परम्परागत दलहरूले नयाँ पुस्ताको आवाज बुझ्न नसक्दा यो अवस्था आएको बताएका छन्।

अन्तरिम सरकार गठनसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् गठन प्रक्रिया सुरु हुनेछ। मन्त्रिपरिषद् सानो हुने संकेत दिइएको छ, तर सदस्यहरूको नाम अझै सार्वजनिक गरिएको छैन।

यसबीच, शीतलनिवासमा राष्ट्रपति, जेनजी आन्दोलनका प्रतिनिधि, सेना, प्रहरी र सुरक्षातन्त्रका उच्च अधिकारीबीच लामो छलफलपछि सरकार गठनको तयारी अन्तिम चरणमा पुगेको छ।

राष्ट्रपति कार्यालय बाहिर अहिले ठूलो संख्यामा पत्रकार र सूचना खोज्ने सर्वसाधारणको भीड छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version