Home नेपाल खबर प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

0

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारहरू (संघ, प्रदेश, स्थानीय) मिलेर विकास निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री ओलीले देशको समृद्धि बाहिरी शक्तिले होइन, स्वदेशी प्रयास र मेहनतले मात्र सम्भव हुने बताए। उनले चीनको उदाहरण दिँदै भने, “४० वर्षअघि छिमेकी चीन गरिब राष्ट्र थियो, तर आफ्नै मेहनतले आज विश्वकै आर्थिक महाशक्ति बन्न सफल भएको छ। हामीले पनि प्रविधिको अधिकतम प्रयोग गर्दै आत्मनिर्भर बन्नुपर्ने समय आएको छ।”

उत्पादन र उद्योग विस्तारमा जोड
प्रधानमन्त्री ओलीले नेपालमा कुन क्षेत्रमा के उत्पादन गर्न सकिन्छ भन्ने पहिचान गरेर ठूलो मात्रामा खेती तथा उत्पादन बढाउनुपर्ने बताए। उनले भने, “यदि हामीले ठोस योजना बनाएर कृषि तथा उद्योगलाई प्रवर्द्धन गर्यौं भने बजार अभाव हुने छैन। सरकारले उद्योग स्थापनाका लागि लगानी विस्तार गर्न सहज वातावरण बनाउनेछ।”

त्यसका लागि संघीय सरकार, प्रदेश सरकार, र स्थानीय सरकारहरूबीच सशक्त सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे। “हाम्रो मुख्य ध्यान उत्पादन वृद्धि, उद्योग स्थापनामा लगानी विस्तार, र सूचना प्रविधिको विकासमा हुनुपर्छ,” उनले भने।

नयाँ नीति र अध्यादेशले उत्साह थपेको दाबी
प्रधानमन्त्री ओलीले सरकारद्वारा जारी विभिन्न अध्यादेशहरूले उद्योगी, व्यवसायी, तथा सूचना प्रविधि क्षेत्रमा सकारात्मक असर पारिरहेको दाबी गरे। उनले भने, **”कोही कसैले अन्य कारणले विरोध गर्नु बेग्लै कुरा हो। तर आमरूपमा यी अध्यादेशहरूलाई स्वागत गरिएको छ, जसले व्यवसायिक क्षेत्रमा नयाँ उत्साह थपेको छ।” प्रधानमन्त्री ओलीको विशेष सम्बोधन जारी छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version