Home अस्ट्रेलिया राजमार्ग दुर्घटनामा नेपाली दम्पती र तीन वर्षीय छोराको निधन, पाँच वर्षीया छोरी...

राजमार्ग दुर्घटनामा नेपाली दम्पती र तीन वर्षीय छोराको निधन, पाँच वर्षीया छोरी अनाथ

0

मेलबर्न, अष्ट्रेलिया —
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको एक भयावह सडक दुर्घटनामा नेपाली मूलका एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कृष्ण भण्डारी (४१ वर्ष), उनकी श्रीमती सपना भण्डारी (३१ वर्ष)तीन वर्षीय छोरा रुबेन रहेका छन्। दुर्घटना स्टोनली (Stoneleigh) नजिकैको Eurambeen-Streatham रोड मा मंगलबार बिहान करिब ९:३० बजे भएको हो।

यो हृदयविदारक दुर्घटनामा दम्पती र छोरा घटनास्थलमै ज्यान गुमाए भने गाडीमा सवार सपना भण्डारीकी आमालाई गम्भीर चोट लागेपछि एयर एम्बुलेन्समार्फत मेलबर्नको एल्फ्रेड अस्पताल लगिएको थियो। अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ।

दुर्घटनामा परिवारको पाँच वर्षीया छोरी बच्न सफल भएकी छन्, तर अब उनी आफ्ना बुबा–आमाबिनै हुर्कनुपर्ने परिस्थितिमा पुगेकी छिन्।

भिक्टोरिया प्रहरीले जनाएअनुसार, परिवार सवार सवारीसाधन Mount William रोडको चौराहामा ट्रकसँग ठोक्किएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ भने ट्रक चालक प्रहरीको सहयोगमा अनुसन्धानमा संलग्न छन्।

सन् २०१७ मा नेपालबाट अष्ट्रेलियाको जिलङ (Geelong) क्षेत्रमा बसोबास गर्न आएका भण्डारी परिवार स्थानीय आर्मस्ट्रङ क्रिक समुदाय (Armstrong Creek community) मा निकै सक्रिय र सहयोगी परिवारको रूपमा चिनिन्थे।

जिलङ नेपाली संघका अध्यक्ष निरज करणजीतले भने,

“यो घटना अत्यन्तै पीडादायक र हृदयविदारक हो। १५–१७ वर्षअघि हामीले यो समुदाय स्थापना गरेदेखि यति ठूलो दुर्घटना कहिल्यै भएको थिएन। भण्डारी परिवार असाधारण रूपमा माया र सहयोग गर्ने परिवार थियो।”

उनले थपे,

“हामी घाइते हजुरआमाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं र दिवंगत आत्माहरूको चिरशान्तिको लागि प्रार्थना गर्दछौं।”

नेपालस्थित परिवारलाई भण्डारी दम्पती र छोराको निधनको जानकारी नेपाली दूतावासमार्फत दिइएको छ।

जिलङ नेपाली समुदायले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली सन्देश प्रकाशित गर्दै भनेको छ,

“शब्दले व्यक्त गर्न नसकिने पीडा हामी सबैले महसुस गरेका छौं। यो कठिन समयमा परिवारजनप्रति गहिरो संवेदना प्रकट गर्दछौं। दिवंगत आत्माहरूको चिरशान्ति होस्।”

यो दुःखद घटना अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि गहिरो क्षतिका रूपमा रहेको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version