अष्ट्रेलियाको न्यू साउथ वेल्स संसदअगाडि केही दिनअगाडि भएको नियो–नाजी प्रदर्शनले देशभर चर्को आलोचना मात्र उब्जाएन, विदेशी सहभागीमध्ये एकको भविष्य नै बदलिदियो। दक्षिण अफ्रिकाका ३२ वर्षीय म्याथ्यु ग्रुटर, जो २०२२ देखि सिड्नीमा सिभिल इन्जिनियरका रूपमा काम गर्दै आएका थिए, प्रदर्शनमा सहभागी भएको प्रमाण सार्वजनिक भएपछि उनकाे अष्ट्रेलियाली भिसा तुरुन्तै रद्द गरिएको छ। गृह मामिला मन्त्री टोनी बर्कले ग्रुटरको भिसा खारेज भएको जानकारी दिँदै भने, “यदि तपाईं भिसामा अष्ट्रेलिया बस्दै हुनुहुन्छ भने, तपाईं यहाँका अतिथि हो। अतिथिले घरभित्र घृणा छिराउने व्यवहार देखायो भने, उसलाई ‘अब घर फर्किनुहोस्’ भन्न सकिन्छ।”
नोभेम्बर ८–९ को रात, करिब ६० जना नियो–नाजी समूह नेसनल सोसलिस्ट नेटवर्क का सदस्यहरू संसद भवनअगाडि उत्रिए। उनीहरूले “ब्लड एन्ड अनर” जस्ता हिटलरी कालका नारा लगाउँदै, नाझी सलामी देखाउँदै, “Abolish the Jewish Lobby” लेखिएको ब्यानरसहित मार्च गरेका थिए। यस्तो स्थल—लोकतान्त्रिक प्रतीक संसद—मै चरमपन्थी प्रदर्शन देखिनुले अष्ट्रेलियाको बहुसांस्कृतिक मूल्यमा ठूलो चोट परेकै छ। प्रदर्शनलाई NSW प्रहरीले अनुमति दिएको थियो, तर पछि प्रहरी प्रमुखले आफूलाई पर्याप्त जानकारी नदिइएको स्वीकार गरेपछि सुरक्षा संयन्त्र र तयारीबारे थप प्रश्न उठेका छन्।
ग्रुटरको पहिचान प्रदर्शनका भिडियो सार्वजनिक भएपछि तुरुन्तै भएको हो। सरकारका अनुसार चरमपन्थी गतिविधिमा संलग्न कुनै विदेशी नागरिकलाई अष्ट्रेलियामा राख्न नपर्ने स्पष्ट नीतिअनुसार भिसा खारेज गरिएको हो। समुदायका विभिन्न समूहहरूले उक्त प्रदर्शनले यहूदी समुदायसहित धेरैलाई त्रासपूर्ण वातावरणमा धकेलेको बताइरहेका छन्। भिसा रद्द भएपछि ग्रुटर अब अनिवार्य रूपमा देशनिकालाको प्रक्रियामा जानेछन्। सरकारको सन्देश स्पष्ट छ—अष्ट्रेलियामा बस्न चाहनेले घृणा होइन, जिम्मेवार र सम्मानपूर्ण आचरण देखाउनुपर्छ।







