अष्ट्रेलियाले १४ नोभेम्बर २०२५ देखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि नयाँ भिसा निर्देशन Ministerial Direction 115 (MD115) लागू गर्दै भिसा प्रक्रिया प्रणालीमा व्यापक परिवर्तन गरेको छ। अब अष्ट्रेलियाबाहिरबाट (offshore) विद्यार्थी भिसा आवेदनको गति र प्राथमिकता शिक्षा संस्थाको प्रदर्शन, क्षमता र नियमन पालना (compliance) मा आधारित हुनेछ। सरकारले यस प्रणालीलाई “ट्राफिक–लाइट मोडल” नाम दिँदै शिक्षा प्रदायकहरूलाई हरियो, पहेंलो र रातो समूहमा वर्गीकृत गरेको छ।
MD115 ले पहिले लागू रहेको MD111 लाई प्रतिस्थापन गरेको छ, र अब १४ नोभेम्बर २०२५ पछि दर्ता गरिएका सबै नयाँ भिसा आवेदन नयाँ नियम अन्तर्गत प्रक्रिया हुनेछन्। तर, सो मितिभन्दा अघि दर्ता भएका आवेदन भने पुरानै निर्देशन अनुसार हेर्ने व्यवस्था कायम रहनेछ। भिसा प्रक्रिया छिटो वा ढिलो हुने मुख्य आधार कुन कलेज, विश्वविद्यालय वा संस्था रोजिएको हो भन्नेमा निर्भर रहने सरकारको भनाइ छ। यसका लागि सरकारले प्रत्येक संस्थालाई तोकिएको National Overseas Student Capacity (NOSC) — विदेशी विद्यार्थी भर्न सक्ने क्षमताको उपयोग —लाई आधार मानेको छ।
नया प्रणाली अन्तर्गत हरियो समूह (Priority 1) मा पर्ने संस्थाहरूले ८० प्रतिशतभन्दा कम क्षमता उपयोग गरेका हुन्छन्, जसले विद्यार्थीहरूलाई सबैभन्दा छिटो भिसा परिणाम दिनेछन्। TAFE, ELICOS, स्कुल र Postgraduate Research कार्यक्रमका विद्यार्थी पनि यसै समूहमा पर्न सक्छन्। यो समूहका विद्यार्थीहरूको भिसा १ देखि ४ हप्तासम्म आउन सक्ने अनुमान छ। पहेंलो समूह (Priority 2) मा ८० देखि ११५ प्रतिशत क्षमता उपयोग गर्ने संस्था पर्छन्, जसमा ५ देखि ८ हप्ता भिसा प्रक्रिया लाग्न सक्छ। रातो समूह (Priority 3) भने ११५ प्रतिशतभन्दा धेरै क्षमता भरेर ओभरक्यापासिटी पुगेका प्रदायकका लागि हो, जसमा भिसा प्रक्रिया ९ देखि १२ हप्ता वा बढी समय लिन सक्नेछ।
सरकारका अनुसार, यो नीति तीन प्रमुख उद्देश्यसहित लागू गरिएको हो—अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा पारदर्शिता र इमानदारी बढाउने, सहरहरूमा विदेशी विद्यार्थीहरूको भीड नियन्त्रण गर्ने, र नियम पालना गर्ने संस्थाहरूलाई प्रोत्साहन गर्दै उल्लङ्घन गर्नेहरूलाई नजरअन्दाज गर्ने। यसले शिक्षा क्षेत्रलाई दीर्घकालीन रूपमा सुदृढ गर्ने विश्वास सरकारले व्यक्त गरेको छ।
MD115 ले विशेषगरी अष्ट्रेलियाबाहिरबाट आवेदन दिने विद्यार्थीहरूलाई मात्र प्रत्यक्ष असर पार्नेछ। अष्ट्रेलियामा भइसकेका (onshore) विद्यार्थीको भिसा प्रक्रियामा भने यसले कुनै परिवर्तन ल्याउँदैन। तर, नयाँ प्रणाली लागू भएपछि विद्यार्थीका लागि कलेज छनोट गर्ने निर्णय पहिलेभन्दा धेरै महत्त्वपूर्ण बनेको छ। कारण, कलेजको क्षमता र प्रदर्शन कमज़ोर भएमा विद्यार्थी रातो समूह मा परेर भिसा अत्यधिक ढिलो हुन सक्छ।
विद्यार्थीहरूले अब Green Zone मा पर्ने कलेज वा विश्वविद्यालय रोजे भिसा परिणाम छिटो पाउन सक्छन्। साथै Genuine Student (GS) विवरण, वित्तीय प्रमाण, अंग्रेजी प्रमाणपत्र लगायतका कागजातहरू मजबुत बनाउनु आवश्यक छ। कलेजहरूले वर्षभरि क्षमता भरिदै जाने भएकाले ढिलो आवेदन गर्दा विद्यार्थी अनायासै लाल समूहमा पर्ने सम्भावना रहन्छ, जसले भिसा प्रक्रिया लामो समयसम्म लम्बिन सक्छ।
MD115 र भिसा प्रक्रिया सम्बन्धी सम्पूर्ण आधिकारिक विवरण अष्ट्रेलियाको Department of Home Affairs को वेबसाइटमा उपलब्ध छ, जहाँ विद्यार्थीहरूले आफ्नो कलेजको स्थिति, प्राथमिकता स्तर तथा सम्भावित भिसा समयबारे थप जानकारी प्राप्त गर्न सक्छन्।
