अष्ट्रेलियामा आगामी ३१ अगस्ट २०२५ का दिन ‘मार्च फर अष्ट्रेलिया’ नाम दिइएको राष्ट्रव्यापी प्रदर्शन हुने भएको छ। मेलबर्न, सिड्नी, ब्रिस्बेन, पर्थ, एडलेड लगायतका सहरमा यस प्रदर्शनका लागि तयारी भइरहेको छ। आयोजकहरूले यसलाई “देशलाई आप्रवासनको दबाबबाट जोगाउने अभियान” भनेर प्रचार गरिरहेका छन्।
आयोजकहरूका अनुसार अष्ट्रेलियामा भइरहेको ‘मास इमिग्रेशन’ (अत्यधिक आप्रवासन) ले आवास, रोजगारी, यातायात, तथा सांस्कृतिक पहिचानमा दबाब परेको भन्दै यसविरुद्ध जनतालाई सडकमा उतार्ने उद्देश्य राखिएको छ। उनीहरूले आफूहरू कुनै राजनीतिक दल वा अतिवादी समूहसँग संलग्न नरहेको दाबी गरे पनि, विज्ञ र मानवअधिकार संगठनहरूले यसलाई स्पष्ट रूपमा आप्रवासीविरोधी अभियान भनेका छन्।
यो प्रदर्शन विशेषगरी रंगभेद र आप्रवासीविरोधी गतिविधि बढ्ने सम्भावना भएकाले आप्रवासी समुदायमा त्रास छ। भारतीय, नेपाली, चिनियाँ लगायतका अन्तर्राष्ट्रिय विद्यार्थी तथा आप्रवासीहरूलाई सहरको भीडभाड क्षेत्र जस्तै– मेलबर्न सीबीडी, सिड्नी टाउनहल, ब्रिस्बेन सिटी स्क्वायर जस्ता स्थानमा अनावश्यक हिँडडुल नगर्न सन्देश दिइएको छ।
सामाजिक सञ्जालमार्फत केही आप्रवासी समुदायले २००५ को क्रोनुला दंगा सम्झाउँदै सुरक्षा चेतावनी जारी गरेका छन्। त्यसैले विद्यार्थी तथा कामदारहरूले त्यतिबेला अनावश्यक भिडभाड क्षेत्र टाढा रहनु, समूहमा यात्रा गर्न, आपतकालीन सम्पर्क नम्बर (000) तथा नजिकको प्रहरी सम्पर्क विवरण साथमा राख्न सुझाइएको छ।
अष्ट्रेलियाको विभिन्न राज्यका प्रहरीले यस प्रदर्शनलाई नजिकबाट निगरानी गरिरहेका छन्। आवश्यक परे भारी संख्यामा प्रहरी परिचालन गरिनेछ। आयोजकहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने दाबी गरे पनि, विरोधी समूहहरू (जस्तै– वामपन्थी, एन्टिफासिस्ट समूह) ले विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्। यस कारण कतिपय ठाउँमा भिडन्त हुने सम्भावना नकार्न सकिँदैन।
सरकार र प्रहरी प्रशासनले आप्रवासी तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आतङ्कित हुन नपर्ने तर सचेत रहनुपर्ने सन्देश दिएका छन्। प्रहरीले सबै गतिविधि ‘क्लोज मोनिटरिङ’मा राखेको छ र कुनै पनि आप्रवासीमाथि आक्रमण वा दुर्व्यवहार भए तुरुन्तै कानुनी कारबाही गरिने जनाएको छ।
सुरक्षित रहने उपाय
-
प्रदर्शन हुने स्थान नजिक नजानु।
-
समूहमा यात्रा गर्नु, एक्लै नहिँड्नु।
-
आपतकालीन अवस्थामा 000 मा फोन गर्ने।
-
स्थानीय नेपाली संघसंस्थाको सम्पर्क नम्बर साथमा राख्ने।
-
सरकारी सूचना र प्रहरीको निर्देश पालना गर्ने।
३१ अगस्टको प्रदर्शन आप्रवासनविरोधी भए पनि, सरकार र प्रहरी प्रशासन आप्रवासीहरूको सुरक्षामा गम्भीर रूपमा लागिपरेका छन्। त्यसैले अनावश्यक त्रासमा नपरी, तर सचेत र सतर्क रहँदै दैनिक गतिविधि गर्न सकिन्छ।