अस्ट्रेलियाको माइग्रेसन एजेन्ट रजिष्ट्रेसन अथोरिटी (MARA) ले अप्रिल २२ मा एक माइग्रेसन एजेन्टको दर्ता ६ महिनाका लागि निलम्बन गरेको छ। निलम्बनको अवधि सकिएपछि मात्र उनले पुनः सेवा दिन पाउनेछन्, त्यो पनि तोकिएका सर्तहरू पूरा गरेपछि मात्र।
प्राधिकरणले सो एजेन्टलाई “विश्वसनीय नभएको” र “आप्रवासन सहायता प्रदान गर्न उपयुक्त नभएको” ठहर गरेको छ। अनुसन्धानका क्रममा उक्त एजेन्टले विभिन्न पेशागत त्रुटिहरू गरेको प्रमाणित भएको हो।
एजेन्टका मुख्य गल्तीहरू:
-
ग्राहकसँग पेशागत र सम्मानजनक व्यवहार गर्न असफल,
-
समयमा सेवा वा प्रतिक्रिया दिन नसक्नु,
-
ग्राहकको गोपनीयता उल्लंघन गर्नु,
-
ग्राहक खातामा तिर्नुपर्ने रकम नपुग्ने गरी असावधानी देखाउनु।
हालसम्म १२ एजेन्टमाथि कारबाही
MARA ले २०२४ जुलाई १ यता १२ जना माइग्रेसन एजेन्टहरूमाथि अनुशासनात्मक कारबाही गरिसकेको छ। यसअघि, २०२३ जुलाई १ देखि २०२४ जुन ३० सम्म १० जना एजेन्टहरू कारबाहीमा परेका थिए।
यो आँकडाले अस्ट्रेलियाको आप्रवासन परामर्श क्षेत्रमा निगरानी र नियमन झनै कडाइ भइरहेको देखाउँछ। विशेष गरी, अन्तर्राष्ट्रिय विद्यार्थीहरू, जसमध्ये नेपाली विद्यार्थीहरूको संख्या उल्लेखनीय छ, का लागि यो सावधानी अपनाउनुपर्ने संकेत हो।
विश्वसनीय सेवाको लागि सचेत रहन सुझाव
प्राधिकरणले विद्यार्थीहरू तथा आप्रवासन सेवाका उपभोक्ताहरूलाई प्रमाणित र दर्ता गरिएका माइग्रेसन एजेन्टहरूसँग मात्र सेवा लिने सुझाव दिएको छ। यसका लागि MARA को आधिकारिक वेबसाइटबाट एजेन्टको स्टेटस जाँच गर्न सकिने व्यवस्था गरिएको छ।
स्रोत: माइग्रेसन एजेन्ट रजिष्ट्रेसन अथोरिटी (MARA)